महाकाली नगरपालिका दार्चुलाको संक्षिप्त परिचय

नेपाल राज्यको पुनः संरचना संगै नेपाल राज्यको ७ न. प्रदेश अन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा,छापरी, काँटै धाप र दत्तु (साविक अपी नगरपालिका वडा नं. १४ देखि १७ सम्म र दत्तु गा.बि.स.) लाई समायोजन गरेर हिन्दुहरुको पबित्र धर्मस्थल मानसरोबरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरु रहेको महाकाली नगरपालिकाको मिति २०७३/११/२५ गते घोषणा भएको नगरपालिका हो ।  यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहूँ गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका र मालिकार्जुन गाउँ पालिका संग सिमाना जोडिएको छ । महाकाली नगरपालिकाले कुल १३५.११ वर्ग कि.मी. क्षेत्रफल ओगेटेको छ भने जम्मा जनसंख्या २१२३१ रहेको छ ।  

महाकाली नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ । धार्मिक एवं साँस्कृतिक शक्ति पिठहरु मौलिक साँस्कृति,  प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले महाकाली नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रकृतिको अनुपम नमुनाको रुपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाती, भाषाभाषी धर्मावलम्बिहरुको साझा बसोबास रहेको छ ।